Friday, June 25, 2010

नयाँ बाटोमा मनीषा

अन्ततः मनीषा कोइराला मनीषा दाहाल बनेकी छिन्। गएको शनिबार २ बजेर ४८ मिनेट जाँदा पण्डित रामचन्द्र घिमिरेले मौद्गल्य गोत्रकी मनीषालाई मन्त्रोच्चारणका साथ वत्स गोत्रमा सारेपछि उनी सदाका  लागि दाहाल बनेकी हुन्। मन्त्रोच्चारणका साथ पण्डित घिमिरेले मनीषा वत्स गोत्रमा परिवर्तन भएको जानकारी दिँदा जन्ती पक्षले ताली बजाएर स्वागत गरेका थिए। मुस्कुराउँदै मनीषाले पनि आफ्ना पति सम्राट  दाहाललाई हेरेकी थिइन्। विवाह समारोहमा ऐश्वर्य रायले विवाहपछि ऐश्वर्य राय वच्चनका रूपमा आफूलाई सार्वजनिक गरेको भन्दै दाहाल पक्षले मनीषालाई जिस्क्याएका थिए। शास्त्रअनुसार गोत्र सारेपछि  महिलाको थर स्थायी हुन्छ।

मनीषाले कहिले विवाह गर्छिन् ? कहाँ गर्छिन् ? कोसँग गर्छिन् ? कसरी गर्छिन् ? एक दशकदेखि उठिरहेका यी सबै प्रश्नको उत्तर मनीषाले धुमधाम रूपमा दिइन्। एक साताअघि नै कोइराला परिवार र दाहाल  परिवारमा व्यस्तताको पारो उच्च तहमा पुगेको थियो। विवाहको कुरा छिन्दा सामान्य विवाह गर्ने, दाइजो केही पनि नलिने, घरमै पार्टी गर्ने तथा कुनै पनि सञ्चारमाध्यममा नदेखिने सम्राटको अडान समय बित्दै  जाँदा गल्दै गयो। अन्ततः मनीषाले सोल्टी होटलमा र सम्राटले एभरेस्ट होटलमा भव्य पार्टी दिए। एक साता लामो विवाहमा मनीषाले सोल्टी होटलमा करिब ४० लाख, गोकर्ण जंगल रिसोर्टमा करिब १० लाख,  मुम्बई तथा काठमाडौंमा भएको खरिददारीमा ५ लाख खर्च गरेको पारिवारिक स्रोतले बतायो। यता सम्राटको परिवारले पनि खरिददारीमा ८ लाख, पार्टीमा १२ लाख खर्च गरेको अनुमान गरिएको छ। यसबाहेक  भारतबाट आउने सबै बलिउड कलाकार, बनारसका इष्ट-मित्र एवं पाकिस्तान, अमेरिका आदि देशबाट आएका आफन्तहरूले आफ्नो व्यक्तिगत खर्च आफैं बेहोरेका थिए। ँयो विवाहलाई १ करोडको विवाह भन्दा  फरक पर्दैन।’ कोइराला परिवारका एक सदस्यको दाबी छ, ँकहाँ कति खर्च भयो, हिसाब-किताब निकाल्न बाँकी नै छ।’

ठूलो तामझाम

मनीषाले आफ्नो विवाहका कार्यक्रमहरूमा फरक-फरक हीराको सेट लगाएकी थिइन् । विवाहमा उनले हरियो पन्नाजडित हीराको हार लगाएकी थिइन् । कानमा उक्त हारसँग सेट मिल्ने हीराको झुम्का थियो भने  हातमा हीराकै औंठी थियो । विवाहमा हातले कडाइ गरिएको बनारसी साडी ती सेटसँग लगाउँदा मनीषा धपक्क बलेकी थिइन् । अघिल्लो दिनको फूलमाला -स्वयंवर) कार्यक्रममा उनको पहिरन भारतबाट आएका  ड्रेस डिजाइनरले नै तयार पारेका थिए । मनीषाका निजी मेकअपम्यान अतुल कदमले उनको पहिरनअनुरूपको मेकअप मात्र गरिदिएनन्, बेला-बेलामा त्यसलाई बिग्रन नदिन विवाह मण्डपमै पुग्थे । अघिल्लो दिन  पनि उनको पहिरन राजकुमारीको भन्दा कम थिएन । कडाइ गरेको पहेंलो रंगको साडीमा साना चिटिक्क परेका हिराको टपले उनको सौन्दर्य निखारिरहेको थियो ।

विवाहको तेस्रो महोत्सव अर्थात् आफैंले दिएको पार्टीमा मनीषाले तेस्रो डिजाइनको हिराको हार लगाएपछि सबैले उनको छनौटको खुलेर बयान गरेका थिए । हिमालमा हिउँ पग्लँदा देखिने दृश्यलाई मुम्बईको मुक्ता  डिजाइनरले उक्त हारमा उतारेको थियो । हिमालको देश नेपालमा हुने मनीषाको विवाहलाई मुक्ताले आफ्नो कलामा उतार्न खोजेको प्रस्ट देखिन्थ्यो । त्यतिमात्र होइन, दुलाहाले एभरेस्ट होटलमा दिएको पार्टीमा  मनीषाले फरक किसिमको मोती र पन्ना लगाएकी थिइन् । लगातार चार दिनको विवाह उत्सवका लागि मनीषाले कति लामो तयारी गरेकी थिइन्, उनको पहिरन, गहना, मेकअप एवं सेन्डलको छनौटबाटै प्रस्ट  झल्कन्थ्यो । यता मनीषाका दुलाहा पनि के  कम ? उनले पहिलो दिनदेखि नै मनीषालाई टक्कर दिने प्रयास गरिरहे ।

फूलमालाका दिन सुट र पेन्टमा सामान्य देखिएका सम्राट विवाहको मन्डपमा भने  राजकुमारझैं चम्किला देखिन्थे ।  कानमा हीराको टप लगाएर सम्राटले आफू मनीषाकै दुलाहा भएको सन्देश दिइरहेका थिए ।  बुट्टे ढाकाको दौरा-सुरुवाल तथा कम्मरमा सिरुपाते खुकुरी भिरेका सम्राटले जुत्ता भने इटलीबाट मगाएका थिए । जुत्ता उद्योगका मालिक सम्राट विशेष प्रकारका जुत्ताका पारखी भएको उनको जुत्ताले संकेत  दिइरहेको थियो । लोग्नेमानिसको प्रतिष्ठा जुत्तामा अडिएको हुन्छ भन्ने पुरानो कथनलाई उनले वैवाहिक कार्यक्रमभरि दर्साइरहे । पारिवारिक स्रोतअनुसार उनका सबै जुत्ता सर्प, गोही तथा अपि|mकामा पाइने दुर्लभ  जनावरको छालाबाट निर्माण भएका थिए ।

बेहुला-बेहुली मात्र होइन, विवाह कार्यक्रममा उपस्थित सबै एक से एक ठाँटिएका थिए । भारतबाट दर्जनौं बलिउडका कलाकार उपस्थितिका कारण पनि उपस्थित सबैलाई राम्रो देखिन दबाब परेको उनीहरूको  हाउभाउबाट प्रस्ट हुन्थ्यो ।

मनीषाको विवाहले अन्तर्राष्ट्रिय सम्मेलनको पनि झलक दिन्थ्यो । दुई नेपाली युवा-युवतीको विवाह भए पनि उक्त विवाहमा मंगोलीयन, अपि|mकन, युरोपीयन, द्रविड एवं आर्य समाजको उपस्थिति थियो । सबैभन्दा  रमाइलो कुरा ती सबैले हिन्दू धार्मिक परम्पराअनुसार मनीषाको खुट्टा धोएर पानी खाएका थिए । मुस्लिम धर्मावलम्बी तथा मनीषासँगै 'सौदागर' चलचित्रमा काम गरेका हिरो विवेक मुश्रानले मनीषाको खुट्टा धोएर  पानी खाँदा विवाह कार्यक्रममा खासखुस चलेको थियो । विवाह कार्यक्रम सकिँदा कुन देशका व्यक्तिको उपस्थिति भएभन्दा पनि कुन देशबाट प्रतिनिधित्व भएन भनेर गन्नु पर्ने अवस्था आएको थियो ।

विवाहमा नेपाल र भारतमा भएका सबै जसो कूटनीतिक नियोगको प्रतिनिधित्वको कारण मनीषाले संयुक्त राष्ट्रसंघको अवैतनिक राजदूत भएर काम गरिसकेकाले पनि हो । मनीषाले आफ्नो विवाहलाई सोचेरै  अन्तर्राष्ट्रिय झलक दिन खोजेकी हुन् भन्ने त्यहाँ उपस्थित वर्ग, सम्प्रदाय, धर्म एवं विज्ञको उपस्थितिले झल्काउँथ्यो । यति हुँदाहुँदै पनि विवाहमा राजनीति र कलाकारिताले बढी ठाउँ ओगट्यो । भारतीय राष्ट्रिय  कांग्रेसका नेता डीपी त्रिपाठीले मनीषाको गोडा धुँदा भारतमा मनीषाको राजनीतिक पहुँचको चर्चा पनि विवाह मण्डपमा भएको  थियो । भारतबाट गोविन्दाको सम्पूर्ण परिवार, ज्याकी श्राफका आधा पारिवारिक  सदस्य, दीप्ति नवल, सुमन रंगनाथन, गुलसन ग्रोवर एवं भारतका चर्चित उद्योगपति तथा साहारा ग्रुप अफ कम्पनीका मालिक सुव्रत रोयको उपस्थितिले विवाहका कार्यक्रमहरू भव्य एवं सालिन भएको थियो ।  नेपालका सबैजसो राजनीतिक खेलाडीको उपस्थितिले विवाहको भोजलाई राजनीतिको केन्द्र पनि बनाएको थियो ।

विवाह कार्यक्रमका फरक पक्ष

मनीषाको विवाहको खवर बाहिर आएपछि दुलाहा सम्राट लगभग सञ्चारमाध्यमबाट टाढिएका थिए । उनी कसैगरी पनि सञ्चारमाध्यममा आउन चाहँदैनथे, तर पत्रकारहरूको जासुसी शैलीबाट अनभिज्ञ सम्राट  पटक-पटक फसे । धेरैजसो पत्रकारले कहिले मनीषाको साथीका रूपमा, कहिले उनकै शुभचिन्तकका रूपमा सूचना फुत्काएको उनले चालै पाएनन् । विवाहको अन्तिम पार्टीमा सम्राट भन्दै थिए, 'मेरा नयाँ-नयाँ  साथी कहाँबाट जन्मिए भनेको त सबै पत्रकार पो रहेछन् ।' विवाहमा धेरैजसो सञ्चारमाध्यमलाई निम्तो नभएका कारण उनी आफूलाई पत्रकारबाट अलग भएको महसुस गर्दै थिए । यद्यपि उनका सबैजसो खबर  सञ्चारमाध्यममा आएकोमा उनले निकटहरूसँग आश्चर्य व्यक्त गरेका थिए ।

०००

वैवाहिक कार्यक्रमभरि मनीषाको खटाइ र दौडधूपबाट परिवार चिन्तित थिए । नभन्दै गोडा धुने कार्यक्रममा मनीषा अचानक बेहोस भएपछि परिवारका सदस्यले उनलाई गाली गर्नुपरेको  थियो । यद्यपि मनीषालाई  त्यसको कुनै असर परेन । अत्यधिक कमजोरी हुँदाहुँदै पनि उनी मुस्कुराइरहेकी भेटिन्थिन् । सोल्टीको पार्टीमा मनीषा लगातार चार घण्टा उभिएर अरूको बधाई लिएको देखेर चिन्तित भएका बुबा प्रकाशले भीड  हटाउँदै उनलाई आराम गर्न पठाएका थिए ।

०००

वैवाहिक कार्यक्रममा राम्रो व्यवस्थापन खट्किएको देखिन्थ्यो । विवाह तालिकाका भित्री कार्यक्रम पटक-पटक फेरिएका थिए । बेहुली लिन जाँदा पञ्चैबाजा अघि लगाएर बग्गीमा जाने योजना बनाएका सम्राट  ट्राफिक व्यवस्थापनका कारण मर्टिसिज बेञ्जमा जानुपरेको थियो । भनेको सामग्री नभेटिने, समयमा कतिपय काम नहुने भएपछि दिक्क मानेर सम्राटले आफ्ना सहयोगीहरूलाई आफ्नो इज्जत राखिदिन अनुरोध  गर्नुपरेको थियो । यद्यपि मनीषाका तर्फबाट पनि त्यही समस्या दोहोरिएको थियो ।

०००

जन्ती लिएर विवाह-मण्डपमा पुगेका सम्राटले मनीषालाई नदेखेपछि उनका बारेमा सोधपुछ गरे । मनीषा गोकर्ण रिसोर्टको राणा लजमा श्रृंगार गरिरहेको थाहा पाएपछि उनी जुरुक्क उठेर मनीषाको कोठातर्फ  लम्किए । केहीले विवाहअघि बेहुलीको कोठामा जान हुादैन भनेर रोक्न खोजे पनि सम्राट मनीषाको कोठामा पसिछाडे । बाहिरबाट दुवैलाई जिस्क्याउने क्रम बढे पनि दुवै जना लामो समयसम्म कोठाबाट निस्के नन् । जब सम्राट मनीषाको कोठाबाट निस्किए, त्यसको केही क्षणमै मनीषा बेहुलीको भेषमा बाहिर आइन् । अघिसम्म दुवैलाई जिस्क्याइरहेका जन्ती पक्षले मनीषालाई बेहुलीको भेषमा देख्नेबित्तिकै तालि बजाएर  स्वागत गरे ।

०००

वैदिक विधिअनुसार मनीषा र सम्राटको विवाह भैरहँदा कोइराला परिवारका राजनीतिक हस्तीहरू भने बेहुला पक्षसँग अन्ताक्षरी खेल्न व्यस्त थिए । डा. शेखर कोइराला, शशांक कोइरालाहरूको टोलीले बेहुला पक्षका  जन्तीलाई हिन्दी, अंग्रेजी र नेपाली गीतका फोहोरा छुटाएर हराइछाडे । अन्ताक्षरी जितेपछि सभासद् डा. शेखर भन्दै थिए, 'बनारसको गल्लीमा हिन्दी गीत गाएर हुर्किएकालाई अन्ताक्षरीमा हराउने को छ र ?'

०००

विवाहको विधिमा बेहुला-बेहुलीले एक-अर्कालाई दही चटाउने -माहुर खाने), जुवा खेल्ने एवं कपडा तान्ने कार्यक्रममा मनीषा नै हावी भइन् । मनीषाले नै सम्राटलाई पहिले दही चटाइन् भने जुवा पनि उनैले  जितिन् । अन्त्यमा बेहुली पक्षले बेहुलालाई कपडा तान्ने कार्यक्रममा पनि हरायो । जितपछि कोइराला पक्षको टिप्पणी थियो, 'उसैपनि मनीषा त्यसमाथि कोइराला, कसले हराउन सक्छ ?' जवाफमा दाहाल  परिवारको टिप्पणी थियो, 'अहिले देशमा दाहाल पनि हावी भैरहेका छन्, विचार गर्नुहोला ।' दुवैको राजनीतिक व्यङ्ग्यले फेरि एकपटक वैवाहिक कार्यक्रमले रौनक थपेको थियो ।

०००

मनीषाले दिएको सोल्टी होटलको पार्टीमा हिन्दी चलचित्रका नायक गोविन्दा अचानक प्रकट भएपछि मदिराले लठ्ठ भएर नाचिरहेका सयौं पार्टीचरा उनीमाथि खनिए । उनीहरू गोविन्दालाई आफूसँगै नचाउन  चाहन्थे, तर एकथरी भने उनलाई मात्तिएको वातावरणमा फस्नबाट जोगाउने प्रयास गर्दै थिए । यही तानातानमा गोविन्दा यसरी च्यापिए कि त्यसबाट उनलाई निकाल्न ठूलो समूह नै लाग्नुपरेको थियो । अन्त्यमा  पत्रकारको टोलीसमेत लागेर उनलाई त्यहाँबाट बाहिर निकाल्नुपरेको थियो । त्यसभन्दा केही अघि उनीहरूले राजेश हमाललाई आफूसँगै नचाएका कारण त्यो भीडले गोविन्दासँग पनि नाच्न पाउनुपर्ने माग  गरिरह्यो । त्यसैले पनि गोविन्दाको परिवार अर्को कोठामा लामो समयसम्म थुनिनुपरेको थियो ।

No comments:

Post a Comment